किन लगाइयो गाईलाई ब्रा ?

विचित्र संसार

एजेन्सी । ब्रा सामान्यतया महिलाहरूले लगाउने भित्री पोसाक हो । तर, स्कटल्यान्डका एक किसानले आफूले पालेको गाईको थुनमा ब्रा लगाइदिएका छन् । इस्टर रोजका ग्राहम बर्नेटले पत्नीको सल्लाहमा घरमा पालेको लैनो गाईको पछाडिका दुईवटा थुनमा ब्रा लगाइदिएका हुन् ।

गाईको थुनमा ब्रा लगाउनुपछाडि बर्नेटको छुट्टै कहानी छ । दुई महिनाअघि ब्याएको गाईले प्रशस्त दूध दिन्थ्यो । तर, बाच्छोले पछाडिका थुन चुस्नै छोड्यो । बर्नेटले बाच्छोको मुख पछाडिका थुनमा लैजाने बारम्बार प्रयास गरे, तर सफल भएनन् । बाच्छोले अगाडिका मात्र थुन चुसिदिँदा पछिल्ला थुनमा थुनाइलोको संक्रमणको जोखिम बढ्यो । अन्ततः बाच्छोको व्यवहारबाट आजित बनेकी बर्नेटकी पत्नीले आफ्नो पुरानो ब्रा गाईको अगाडिका थुनमा लगाइदिन श्रीमान्लाई सुझाब दिइन् । बर्नेटले पनि पत्नीको सल्लाहबमोजिम दुईवटा थुनमा ब्रा लगाएर त्यसलाई पुछारमा कसिदिए । त्यसपछि बिचरा बाच्छो बाँकी रहेका दुई थुन चुस्न बाध्य भयो र थुनमा संक्रमणको जोखिम पनि हट्यो । किसानको जुक्तिलाई धेरैले प्रशंसा गरेका छन् ।

बर्नेटका एक साथी डोनाल्ड रोसले सो तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेका छन्, ‘किसान समुदायको नयाँ विचार सेयर गर्न मन लाग्यो ।’ ब्रा लगाएको गाईको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।