शिक्षासेवी मास्केको निधन, प्रधानमन्त्रीद्धारा दुःख व्यक्त

शिक्षा/स्वास्थ्य समाचार

काठमाडौँ । शिक्षासेवी एवं नेकपाका पुराना कार्यकर्ता सीताराम मास्केको  निधन भएको छ । माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारत रहेका मास्केको शनिबार  दिउँसो निधन  भएको नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले जानकारी दिए ।

मस्तिष्कघातका कारण एक महीनाअघि उनी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । मास्केको आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय धूम्रबाराहीमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने महासङ्घका अध्यक्ष थापाले बताए  । ६७ वर्षीय मास्केका तीन छोरा र श्रीमती छन्  ।

अमेरिकामा रहेका उनका  दुई छोरा फर्केपछि सोमबार मात्र दाहसंस्कार हुने भएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका संस्थापक कोषाध्यक्ष रहेका  मास्केले सरकारी शिक्षकबाट निवृत्त भएपछि निजी शैक्षिक संस्था खोलेका थिए  ।

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका पुराना कार्यकर्ता सीताराम मास्केको निधनप्रति दुःख व्यक्त गरेका छन् ।