प्रधानमन्त्री ओली टिचिङ अस्पताल भर्ना

समाचार

काठमान्डौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन । छातीमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहान महाराजगंजस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको प्रधानमन्त्रीको कार्यलय स्रोतले जनाएको छ ।

आइतबार राति नै उनलाई मनमोहन कार्डियोभास्कुलर सेन्टरको आइसियूमा भर्ना गरिएको अस्पतालले जनाएको छ । उनलाई सोमबार बिहान साढे २ बजेतिर टिचिङ अस्पताल पुर्याइएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा पाँच जना चिकित्सकको टोली खटिएको छ।  उनको उपचारका लागि निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह, क्याबिनेट चिकित्सक तथा कलेजो विशेषज्ञ डा. दिलिप शर्मा, मुटु रोग विशेषज्ञ डा. अरुण सायमी र एनेस्थेसियाका डा. सुवास आचार्य छन्।

शनिबार आयोजित नेकपाको चियापान कार्यक्रममा समेत उनी स्वास्थ्य समस्याकै कारण जान सकेका थिएनन् । संक्रमण बढ्ने सम्भावना भएपछि चिकित्सकले उनलाई आराम गर्न सुझाव दिएपछि निवासमै बसेका थिए ।

अस्पतामा नेता कार्यकर्ताको भीड
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना, नेकपाका महासचिव विष्णु पौडेल, नेता झलनाथ खनाल पनि अस्पताल पुगेका छन् ।यस्तै गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, नेकपाका नेता भीम रावल, टोपबहादुर रायमाझी,केशव बडाललगायतले पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् ।

प्रधानमन्त्री  ओलीलाई भेट्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन्। अहिले अस्पताल परिसरमा नेकपा नेता/कार्यकर्ता र शुभेच्छुकको भीड लागेको छ।

यसअघि प्रधानमन्त्रीको स्वास्थ्य जाँच गरेका वीर अस्पतालका डाक्टर दीलिप शर्माले प्रधानमन्त्रीलाई रूघाखोकी लागे पनि संक्रमण नभएको बताएका थिए।

प्रधानमन्त्री ओलीले ११ वर्षअघि मृर्गौला प्रत्यारोपण गरेका थिए। मृर्गौला पत्यारोपण गरेकाहरूलाई संक्रमणको सम्भावना ज्यादा हुन्छ। इनेपाल डटन्युज प्रधानमन्त्रीको स्वास्थ्य स्थिति सामान्य होस भन्दै शिध्र स्वास्थ्य लाभको कामना गर्दछ ।