अस्पतालबाटै प्रधानमन्त्रीको भने- मेरो स्वास्थ्यका बारेमा गरिएको प्रचारबाजीबाट प्रभावित नहुनू

राजनीति

काठमान्डौं । शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा  ओलीले सामाजिक सञ्जाल तथा केही डिजिटल मिडियाले आफ्नो   स्वास्थ्य अवस्थाका बारेमा आधारहीन प्रचार गरेको  गुनासो गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार साँझ  एक सन्देश प्रकाशन गर्दै सो गुनासो गरेका हुन ।

प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन्, ‘सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रूपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारवाजीको मलाई जानकारी छ । यसप्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु ।”

‘चिकित्सकहरूले मलाई दिनुभएको जानकारी अनुसार म छिट्टै नै अस्पतालबाट फर्किने छु र तपाईं हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु’, प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन्, ‘विगतमा झैं समग्र देशवासी दिदीबहिनी–दाजुभाइहरूको सहयोग र सद्भाव निरन्तर रहनेमा म विश्वस्त छु।’प्रधानमन्त्री ओलीले मुलुकका केही भागमा घटेका घटनाप्रति चासो व्यक्त गर्नै त्यसमा आफू संवेदनशील भएको उल्लेख गरेका छन्।

‘धर्म, संस्कृतिको नाममा होस् वा दलीय बहसको नाममा, आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि दुष्कर्म मान्य हुनै सक्दैन’ प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन्, ‘यस्ता प्रकृतिका कार्यमा संलग्न जोसुकैलाई पनि राज्यको प्रशासन र सुरक्षा निकायले कानून बमोजिम कार्वाही गर्छ ।”

आफ्नो स्वास्थ्यका बारेमा चासो र चिन्ता गर्ने राष्टकपति,उपराष्ट्रपति,दलका नेता, संवैधानिक अंग विदेशी कुटनीतिक नियोग,कर्मचारी लगायत स्वदेश तथा विदेशबाट आफ्नो स्वास्थ्य लाभको कामना गर्नेहरूलाई प्रधानमन्त्री ओलीले धन्वयाद ज्ञापन गरेका छन् ।