फ्रान्समा अस्वभाविक हिम बर्षा,  विद्युत आपूर्ति र सडक यातायात अवरूद्ध

अन्तर्राष्ट्रिय

पेरिस । फ्रान्सको उत्तरपूर्वी तथा मध्य दक्षिणी क्षेत्रमा मङ्गलबार रातभर व्यापक हिमबर्षा भएको छ । हिमबर्षाका कारण देशका विभिन्न भागमा विद्युत आपूर्ति तथा सडक यातायातमा समस्या भएको छ । 

सडकमा एक्कासी परेको हिउँका कारण हजारौँ गाडीहरू बाटामै अलपत्र परेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हिमबर्षाका कारण यात्रामा हिँडेका सवारी चालक तथा यात्रुहरूले गाडीभित्रै सुतेर रात विताएका छन् ।

मङ्गलबार जमिनको सतहमा करिब ४० सेन्टिमिटरसम्म हिउँ जमेको प्रभावित क्षेत्रमा करिब दुई लाख घरहरुमा विद्युत आपूर्ति अवरूद्ध भएको हाउटलोयरका मौसम मामिला हेर्ने निकायले जनाएका छन् ।

जमेको हिउँका कारण ठाउँठाउँमा रेल सेवा पनि अवरूद्ध भएको छ । फ्रान्सको राज्य सञ्चालित रेल सेवा कम्पनीले बाटोमा फसेका रेललाई हिउँ हटाएर बुधबार अपरान्ह्सम्म सञ्चालनमा ल्याउने पहल थालेको जनाएको छ ।