क्षेत्रीय अन्तर्राष्ट्रिय केन्द्र बन्दै नेपालगञ्ज विमानस्थल

पूर्वाधार समाज

नेपालगञ्ज  ।  सरकारले नेपालगञ्ज विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय उडानको केन्द्र बनाउने लक्ष्यसहित पूर्वाधार विकासलाई तीव्रता दिइएको छ । अन्तर्राष्ट्रिय उडानलाई मध्यनजर गर्दै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले विमानस्थलको स्तरोन्नतिसँगै पूर्वाधार र प्रविधियुक्त बनाइन लागेको हो ।

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय, विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो हवाई चाप न्यूनीकरण तथा क्षेत्रीय अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउन विमानस्थलाई अन्तर्राष्ट्रिय उडान योग्य बनाउन लागिएको छ ।

नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय उडानयोग्य बनाउन आवश्यक पूर्वाधार बनाउन शुरु गरिएको विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । यो विमानस्थलबाट एटीआर–७२ बाटै भारतलगायत विभिन्न मुलुकका नजिकका गन्तब्यमा अन्तर्राष्ट्रिय उडान गर्ने योजना छ । पूर्वाधार निर्माणसँगै उपकरण थप्न लागिएको विमानस्थल प्रमुख ठाकुरले बताए ।

हाल रात्रिकालीन उडानसमेत भइरहेको यो विमानस्थलमा पार्किङ–बे विस्तारको काम शुरु गरिएको छ भने छिट्टै अन्तर्राष्ट्रियस्तरको टर्मिनल भवन बनाइनेछ । यो विमानस्थलबाट भारतको नयाँदिल्ली उडान भर्नका लागि बुद्ध एयरले अनुमति पाइसकेको छ । दिल्लीका लागि उठान अनुमति पाए पनि भारतीय पक्षबाट ‘स्लट’ व्यवस्थापनमा समस्या आएको छ ।

छ वटा पार्किङ–बे थपिँदै

अन्तर्राष्ट्रिय उडान भर्ने उद्देश्यका साथ नेपालगञ्ज विमानस्थलमा छ वटा पार्किङ–बे थपिने भएको छ । आगामी १८ महीनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ उक्त पार्किङ–बेको बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्दै नेपालगञ्जलाई क्षेत्रीय केन्द्रका रुपमा विकास गर्न स्तरोन्नतिको काम शुरु गरिएको उल्लेख गरे ।