धानमा दाना नलागेपछि कृषक चिन्तित

कृषि

पर्वत ।पाकेर थन्क्याउने बेलासम्म पनि धानमा दान (बाला) नलागेपछि यहाँको एक गाउँका कृषक चिन्तित बनेका छन्। पर्वतको फलेवास नगरपालिका–३ स्थित पोखरचौरका कृषकले यस वर्ष लगाएको उन्नत जातको धान ‘लोकतन्त्र’ मा दाना नलागेपछि स्थानीय दर्जनौँ कृषक समस्यामा परेका हुन्।

उक्त धान फलेवास नगरपालिकाको कृषि शाखाले सिफारिस गरेको थियो। कृषि प्राविधिकले दोब्बर फल्ने भन्दै अनुदानमा बीउ बाँडेको धानमा बाला नलागेपछि किसान चिन्तित बनेका हुन्। स्थानीय मार्सी र कोदे गुडुरालगायतको धान लगाउँदै आएका यहाँको पोखराचौर र आँगाखेतका करीब दुई दर्जन किसानले यस पटक ‘लोकतन्त्र’ जातको धान लगाएका थिए । यो जातका बोटमा बाला नलागेको हो।

किसानले करीब १०० रोपनी खेतमा ८० किलो लोकतन्त्र धानको बीउ रोपेका हुन्। अन्य जातका तुलनामा दोब्बर फल्ने र बोट हावाहुरीमा पनि नढल्ने भन्दै प्राविधिकले सिफारिस गरेका थिए।