त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति प्रक्रिया अघि बढ्यो

समाचार

काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रिह्याबिलिटेसन’को प्रक्रिया अघि बढेको छ । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जीनियरिङ कर्पाेरेसनसँग  सोमबार निर्माण सम्झौता हुने भएको हो ।

उक्त आयोजनाबारे आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) उच्च अधिकारीबीच प्रस्तुतीकरण गरिएको थियो ।

चिनियाँ निर्माण कम्पनीसँग करबाहेक रु तीन अर्ब ७५ करोड रन्वे कालोपत्र परिवर्तनका लागि सम्झौता हुन लागेको क्यानले जनाएको छ । सन् १९८० मा निर्माण भएको रन्वे अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको छैन ।

धावनमार्ग स्तरोन्नतिको काम पाँच महीनाभित्र शुरु हुनुअघि आवश्यक तयारीका लागि पाँच महीनाको समय दिइएको छ । हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख बाबुराम पौडेलले कम्पनीले आवश्यक तयारीका लागि चार महीना भए पुग्ने प्रस्ताव पेस गरे पनि आयोजनाले पाँच महीनाको समय दिएको बताए ।