अन्तर प्रदेश परिषद् बैठकमा प्रधानमन्त्रीको भनाइ– ‘खेल्नेवित्तिकै कोही च्याम्पियन हुँदैन’

समाचार

काठमाडौं, २३ मंसिर– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संघीयता कार्यन्वयनको प्रारम्भिक चरणमा भएकोले आफ्ना अनुभवहरुबाट सिक्दै यसलाई मजबुत बनाउनु पर्ने बताउनुभएको छ ।

अन्तर प्रदेश परिषदको पहिलो बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीयता नेपालको लागि नयाँ विषय भएकोले यसलाई संरचनागत रुपमा बलियो बनाउन आफैँ लाग्नु पर्ने बताउनुभयो । ‘मुख्य मन्त्रीको कार्यालय, प्रदेश मन्त्रीको कार्यलय, आवास जस्ता कुरा केही समय अघिसम्म हाम्रो सोचमा थिएनन्,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘अहिले तिनलाई व्यवहारिक रुपमै प्रयोग गर्नुपर्दा केही असजिलो महशुस गरेका हौंला । खेलमा पस्ने वित्तिकै कोही खेलाडी पनि च्याम्पियन हुदैन । अभ्यास गर्दै गएपछि च्याम्पियन हुन्छ । हाम्रा लागि संघीयता त्यस्तै नयाँ खेल हो । तर यसमा हामी च्याम्पियन सावित हुनेछौं ।’

संघीयता कार्यान्वयनका लागि सरकारले गति बढाउनु पर्दछ । ‘हामी गलत बाटोमा गएका छैनौ । संघीयता कार्यन्वयनमा गति बढाउन बाँकी छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । संघ, प्रदेश र स्थानीय तहको सहकार्यबाट नै देशलाई अगाडि बढाउनु पर्नेमा प्रधानमन्त्री ओलीको जोड छ ।

आजको बैठकमा प्रदेश नं १ का मूख्यमन्त्री शेरधन राई, प्रदेश नं २ का मूख्यमन्त्री लालबाबु राउत, प्रदेश नं ३ का मूख्यमन्त्री डोरममणि पौडेल र गण्डकी प्रदेशका मख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्ना धारणा राख्नुभएको छ । बाँकी तीनवटा प्रदेशका मूख्यमन्त्रीहरुले भोलीको बैठकमा आफ्ना धारणा राख्ने कार्यक्रम छ । बैठक सोमबार १० बजे सिंहदरबारमा बस्नेछ ।

आजको बैठकमा संघीयता कार्यान्वयनका लागि विभिन्न मन्त्रालयबाट भइरहेका कामहरुका विषयमा प्रधानमन्त्री कार्यलय, गृह मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयका सचिवहरुले जानकारी गराउनुभएको थियो ।